‘केन्द्र सरकारले स्थानीय तहलाई भुमिका बिहिन बनाएको छ’

पर्वत, भदौ १२–जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले केन्द्र सरकारले जनतालाई न्याय र सुशासनको अनुभूति दिन नसकेको कारण नागरिकहरूले विद्रोह गर्ने अवस्था सिर्जना भएको दाबी गरेका छन् । जलजला गाउँपालिका वडा नम्बर ४ पाल्सिङ खोलाखेतमा कामना आमा समूहद्वारा निर्माण गरिएको सामुदायिक भवन तथा दुना टपरी मेसिनको उद्घाटन गर्दै मल्लले केन्द्र सरकारले स्थानीय सरकारलाई भुमिका विहिन बनाएकोमा आक्रोश पोखेका हुन ।
पछिल्लो समय देशमा भएका केही घटनालाई विश्लेषण गर्ने हो भने पनि वर्तमान सरकारप्रति जनताको भरोशा गुमेको प्रष्ट हुने उनले बताए । केन्द्र र प्रदेश सरकारले संविधान विपरित स्थानीय सरकारलाई निरन्तर हस्तक्षेप गरिरहेको आरोप लगाउदै उनले निर्वाचनपूर्व जनतालाई भने अनुसार गाउँ–गाउँमा सिंहदरवारको अनुभूति दिन नसकिएको दाबी गरे । यही अवस्था रहेमा आफूहरूमाथी गरेको हस्तक्षेपकारी भूमिका विरूद्धमा गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका महासंघमार्फत केन्द्र सरकारलाई मुद्दा हाल्ने तयारी भएको बताए ।

आफुले गाउँपालिका भित्रका नौ वटै वडाबाट योजनाहरू संकलन गरि प्राथमिकताका आधारमा बजेट विनियोजन गरेको प्रष्ट पार्दै विकास निर्माणमा सबै जलजलाबासीलाई समान ढंगले हेरेको बताए । उनले गाउँपालिकाबाट सम्भव हुने योजनाहरू गाउँपालिकाबाट र सम्भव नहुने योजनालाई प्रदेश र केन्द्र सरकारबाट कार्यान्वयनमा ल्याउने प्रयास गरेपनि प्रदेश र संघ सरकारले सिफारिस गरेका योजनामा बजेट बिनियोजन नगरेको दाबी गरे ।
उनले महिला समुह र युवा क्लबमार्फत गाउँमै रहेर कुनै न कुनै उत्पादनजन्य काम गर्न प्रोत्साहन गर्ने गाउँपालिकाले प्रयास गरिरहेकोले गाउँमै आयआर्जन र स्वरोजगारमुलक काममा ध्यान दिन आग्रह गरे । ‘हामी कसरी हुन्छ गाउँमा उत्पादन बढाउनुपर्छ, महिला र युवाले आयआर्जन र स्वरोजगारमा लगाउनुपर्छ भनेर नै लागिरहेका छौ’ अध्यक्ष मल्लले भने–‘त्यसैले यस्ता काममा लाग्नेलाई गाउँपालिकाले सहयोग गर्छ ।’  मल्लले कामना आमा समूहले विकास, आयआर्जनका साथै सामाजिक चेतनाको निम्ति गरेका कामहरूको प्रशंसा गरेका थिए । उनले उक्त समुहका महिलाहरुको आयआर्जन बढाउनका लागि दुना टपरी बुन्ने नयाँ बिद्युतिय मेसिन सहयोग गर्ने र महिला समुहको भवनमा एक लाख बराबरको फर्निचर सहयोग गर्ने पनि बताए ।

कार्यक्रममा जलजला गाउँपालिकाका उपाध्यक्ष सीमा गर्बुजा पुनले समूहमा आबद्ध भएर उद्यमशीलतामा लाग्न महिलालाई आग्रह गरिन । स्वरोजगारमूलक कार्यक्रमहरुको लागि गाउँपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले ब्यक्त गरिन । जलजला गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भीष्म मल्लले गाउँपालिकाबाट पाल्सिङ खोलाखेतमा बाटो, बिजुली, खानेपानी, शिक्षा र स्वास्थ्यमा भएका विकास निर्माणका कामहरूको जानाकारी गराएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस जलजलाका संयोजक चन्द्रबहादुर खत्री, नेपाली काँग्रेस जलजला ४ का वडा सभापति मेघनाथ पौडेल, समाजसेवी नरबहादुर कार्की, वडा सदस्य हरिबहादुर कार्की, समाजसेवी क्या शिवबहादुर कार्की, धुलेपातल सामुदायिक बन उपभोक्ता समितिका सचिव टुङ्गनाथ पौडेल, समाजसेवी तप्तबहादुर कार्की, समाजसेवी भक्तबहादुर कार्की, कामना आमा समूहका अध्यक्ष चिनु जिसी, उपाध्यक्ष बिनु कार्की, सचिव देवी कार्की, सदस्य गीता कार्की र सल्लाहकार खड्गराज कार्कीलगायतले बोलेका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

रेल रोकिएको रोकियै

अर्काको भलो गर्दा यसरी फसाउन खोजियो मल्ललाई

एमालेमा एकताको ढोका बन्द, विद्रोहको तयारी

इटहरीका मेयर चौधरीले सेवाग्राहीलाई कार्यालयमै थुने

एमसीसीमा सभामुख नै अनिच्छुक, संसद्मा अघि नबढाउने संकेत




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000