कम्युनिस्ट शासनको १०० वर्ष : हत्या, आँसु र भोकमरी

 

जोन स्टोसेल (रीजन डट्कम)


यो वर्ष संसारमा गरिएको सबभन्दा ठूलो गल्तीमध्येको एक — रुसमा कम्युनिस्ट क्रान्तिको सयौं वार्षिकी परेको छ ।

रुसमा र अन्य देशमा कम्युनिस्ट शासकहरूले लगभग १० करोड मानिसको ज्यान लिए । अधिकांश मानिस भोकमरीका कारण मारिए किनकि समाजवादी तानाशाहहरूले जनतालाई जबर्जस्ती अप्रभावकारी सामूहिक खेती गर्न लगाए । अन्य लाखौंलाई राजनीतिक सफाया गरियो ।

तर रुसी क्रान्ति हुँदा रुसभित्र र बाहिरका मानिसहरू उत्साहित भएका थिए । भीडले लेनिनलाई उत्साहित गरायो । अब कुलीनहरूले शासन चलाउँदैनन्, पूँजीपतिहरूले कामदारलाई शोषण गर्दैनन् अनि मानिसहरू सँगसँगै समृद्धिको बाटोमा अघि बढ्छन् भन्ने जनतालाई विश्वास थियो ।

बेलायती पत्रकार थियोडोर रोथस्टाइनले लेखे, ‘साम्राज्यवादी दुःस्वप्नको अविभाजित नियन्त्रण अन्त्यतिर आइपुगेको छ … (अब) मजदूर वर्गको शासन हुन्छ ।’

तर जनताको जीवनका सबै पक्षमा सरकारी योजनाले काम गर्दैन अनि सबै कुरा राम्रो हुँदै जाने कुरा पनि सम्भव छैन । उल्टो, प्रशासनिक योजना आयोगहरू तथा गोप्य प्रहरी यसका उपज हुन् ।

(तर यसले नेपाललगायत देशमा कम्युनिस्ट शासनको वार्षिकोत्सव मनाउन रोकेन । विप्लव नेतृत्वको माओवादी समूहले हालै अक्टोबर क्रान्तिको वार्षिकी मनायो ।)

कम्युनिजम हत्यामा आधारित शासन व्यवस्था हो । लेनिनले क्रान्तिको शुरुवातमै सयजना सम्पत्तिधारीहरूलाई झुण्ड्याउने आदेश दिएका थिए । जनताले ‘जमिन्दार, धनी र रगतचुसुवाहरू’ को मृत्यु देख्न पाउनुपर्ने उनी बताउँथे ।

त्यसपछि आमहत्या र भोकमरीले मृत्युको संख्या ह्वात्तै बढायो ।

दार्शनिक कार्ल मार्क्सले साम्यवादको सिद्धान्त ल्याउँदा यस्तो स्थितिको कल्पना गरेका थिएनन् तर यस्तो हुन गएकोमा आश्चर्य मान्नुपर्दैन । मार्क्सका लेखहरूमा पूँजीपतिहरूलाई ब्वाँसा र अन्य मांसाहारी जनावरसँग तुलना गरिएको छ अनि उनीहरूलाई नष्ट गरिनुपर्ने बताइएको छ ।

मार्क्सले पूँजीवाद उत्पादनशील भएको स्वीकार गरेका थिए तर ‘पूँजीले उत्पादन क्षमता हासिल गर्नका लागि जीवित मजदूरलाई भ्याम्पायरले जस्तो निरन्तर चुसिरहन्छ’ भनेर समेत लेखेका थिए ।

सोभियत शासनले लाखौं मानिसको हत्या गरेको भएपनि केही पत्रकार र बुद्धिजीवीहरूले अपराधलाई ढाकछोप गरेका थिए ।

स्टालिनले अधिकांश मिडियालाई बाहिरै राखेका थिए त्यसैले अत्यन्तै कम मानिसले मात्र लाखौं जनता भोकभोकै मरिरहेका छन् भनी थाहा पाए । तर न्यु योर्क टाइम्सका वाल्टर डुरान्टीले यो दुर्दशा प्रत्यक्ष देखे ।

तैपनि उनले ‘स्टालिनका अपराधलाई लुकाए’, खुला बजार विचारधारालाई संसारभरि प्रवर्द्धन गर्ने एटलस नेटवर्कका टम पाल्मर भन्छन् ।

डुरान्टीले ‘कम्युनिस्ट क्रान्ति’ लाई समर्थन गरेको भएर ‘रुसमा भोकमरीको रिपोर्ट अतिशयोक्ति वा दुराग्रहपूर्ण प्रचारबाजी’ भने भनी पाल्मर दाबी गर्छन् ।

डुरान्टीले ‘ट्रक भरिभरि लाशहरू देखेका थिए’, पाल्मर भन्छन्, तैपनि ‘उनले द न्यु योर्क टाइम्सको पहिलो पृष्ठमा सबै कुरा गजबको भएको लेखे’ । उनले यसका लागि पुलित्जर पुरस्कार समेत पाए ।

यसो हेर्दा समय खास परिवर्तन भएको छैन । यसै वर्ष द न्यु योर्क टाइम्सले रुसी कम्युनिस्ट शासनको वार्षिकोत्सव मनाउनका लागि विभिन्न निबन्धको सिलसिला नै चलायो । तीमध्ये एउटामा त सोभियत संघमा यौन पनि राम्रो हुन्थ्यो किनकि क्रान्तिले मांसल पूँजीवादी संस्कृतिलाई ध्वस्त पारेको थियो भनी लेखिएको थियो ।

हुन त पछि द न्यु योर्क टाइम्सले डुरान्टीको काम ‘यो पत्रिकामा गरिएको सबभन्दा खराब रिपोर्टिङमध्येको एक’ भनी स्वीकार ग–यो तर पुलित्जर समितिले पुरस्कार खोसेन ।

कम्युनिजम अभ्यास गरिएका सबै ठाउँमा हत्याहरू भएका छन् । कम्युनिजमको सयौं वार्षिकीका अवसरमा मैले एक भिडियो बनाउँदा लिली ताङ विलियम्ससँग अन्तर्वार्ता गरें । उनी चीनको कम्युनिस्ट शासनमा हुर्केकी हुन् ।

‘मेरा लागि त माओ भगवान् जत्तिकै थिए,’ उनी सम्झिन्छिन्, ‘बिहानै हामीलाई भजन गाउँदै अध्यक्ष माओका अगाडि गल्ती स्वीकार गर्न लगाइन्थ्यो ।’

माओको शासनमा विलियम्स भोकका कारण तड्पिनुपरेको थियो । ‘म अत्यन्तै भोको थिएँ । मेरा काकाले मलाई मुसा समात्न लगाउनुहुन्थ्यो । तर समस्या के भने सबैजना मुसा समात्न चाहन्थे । हुँदा हुँदा मुसा नै सकिए ।’

तैपनि उनलाई कम्युनिस्ट प्रचारबाजीका कारण ब्रेनवाश गरिएकाले ‘माओको मृत्यु हुँदा झण्डै आँखा झर्ने गरी रोएकी थिएँ’ भन्छिन् ।

तर ‘म कलेजको विद्यार्थी हुँदा मैले अमेरिकी विद्यार्थीलाई भेटें । उनले मलाई अमेरिकी संविधान र स्वतन्त्रता घोषणाको हाते किताब दिए । त्यसपछि मेरो दिमागमा बत्ती बल्यो ।’

पहिलोचोटि उनलाई लाग्यो, ‘मेरा पनि अधिकार छन् … प्राकृतिक अधिकारलाई कसैले खोस्न सक्दैन । जीवन, स्वतन्त्रता र खुशीको खोजी ।’

उनी अमेरिकातर्फ भागिन् । अब उनको जीवनको लक्ष्य नै अमेरिकीहरूलाई स्वतन्त्रताको महत्त्व सम्झाउने हो ।
मलाई लाग्छ, उनको सन्देश कार्ल मार्क्स, लेनिन र स्टालिनकोभन्दा सही छ ।

‘ठूलो, शक्तिशाली सरकार एदकमै डरलाग्दो हुन्छ,’ उनी चेतावनी दिन्छिन् । ‘यो क्यान्सर जस्तै फैलिँदै जान्छ, कहिल्यै रोकिँदैन । व्यक्तिलाई नभई सरकारलाई शक्तिशाली बनाउँदा हामीहरू यो स्वतन्त्र देश गुमाउन पुग्छौं ।’

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000