लोकतान्त्रिक गठबन्धनलाई पहिलो बनाउन के गर्दै छन् देउवा ?

काठमाडौं, असोज ३० –कांग्रेसलाई एक्ल्याउने हेतुले गरिएको वाम गठबन्धन दिनानुदिन खस्किँदो अवस्थामा पुगेको छ । सत्तास्वार्थका लागि गरिएको गठबन्धनका दलहरूको आपसी स्वार्थ बाझिएका कारण वामगठबन्धन अप्ठ्यारोमा परेको र चुनावसम्म पनि जान सक्नेमा आशंका गरिएको अवस्थामा वामगठबन्धनको एउटा प्रमुख दल नयाँ शक्ति गठबन्धनबाट बाहिरिइसकेको छ । निर्वाचन जति नजिकिँदै जान्छ, त्यति नै विवाद बढ्दै जाने र अन्त्यमा वामगठबन्धन ‘भ्यागुताको धार्नी’सरह बन्ने सम्भावना बढ्दै गएको तथ्यहरूले पुष्टि गर्दै लगेको छ ।

नेपाली कांग्रेस पार्टी र वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको तेजोबध गर्ने उद्देश्यले वामपन्थीहरूले गठबन्धन गरेका थिए । देउवाको शक्तिबाट भयभीत भएर गरिएको वामपन्थी एकताका कारण देउवा झन् बलियो बन्दै गएका छन् । वर्तमान प्रधानमन्त्रीका विरुद्ध पाँचजना पूर्वप्रधानमन्त्रीहरू एक ठाउँमा मिल्दा पनि देउवा टसको मस देखिएका छैनन् । ती दलहरूको सामना गर्न देउवा सक्षम देखिएका छन् । बरु गठबन्धन गरेको एक साता पनि नपुग्दै गठबन्धनभित्रका एक पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई देउवाकै शरणमा पुगिसकेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि लिएका कतिपय अडान पनि समयक्रमसँगै सही सावित हुँदै गएका छन् । नवराज सिलवाललाई प्रयोग गरेर एमालेले प्रहरी प्रशासन आफ्नो पकडमा ल्याउन लागेको बुझेर नै देउवाले उनलाई प्रहरी महानिरीक्षक बनाउन नहुने अडान लिएका थिए । आफ्नो राजीनामा स्वीकृत नहुँदै सिलवाल एमालेमा प्रवेश गर्नुले यो कुरालाई छर्लंग बनाएको छ ।

त्यसैगरी, तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई ‘आगामी राष्ट्रपति’को आश्वासन दिएर एमालेले सर्वाेच्च अदालतमा अराजकता भित्र्याउन लागेको थाहा पाएरै देउवाले कार्कीलाई महाअभियोग लगाउन खोजेका थिए । विशेष सूत्रले जनाएअनुसार तिनै सुशीला कार्की अब एमाले कोटाबाट राष्ट्रिय सभामा प्रवेश गर्ने दाउमा छिन् । आफ्नो पार्टी र सिंगो मुलुकलाई नै अहित गर्ने गरी कोही अघि बढिरहेको थाहा पाउँदापाउँदै कुनै पनि राजनीतिक दल वा दलका नेताले त्यसलाई टुलुटुलु हेरेर बस्ने कुरा हुँदैन । सुशीला कार्कीमाथिको महाअभियोग दर्ता त्यसैको परिणाम हो । यदि वर्तमान प्रधानमन्त्रीले त्यसलाई टुलुटुलु हेरेर बसेका थिए भने मुलुकका संवैधानिक अंगहरूमा अराजकताले जरा गाडिसकेको हुने थियो ।

शेरबहादुर देउवाले ठूलो मन्त्रीमण्डल बनाए भनेर एमालेलगायत कतिपयले आलोचना गरिरहेका छन् । ६–६ जना उपप्रधानमन्त्री बनाएर खिचडी सरकार चलाएका केपी ओलीले यसको विरोध गर्नुको कुनै तुक नहुने अधिकांश विश्लेषकहरूको भनाइ छ । ओलीको समयभन्दा अहिलेको परिस्थिति फरक छ । वर्तमान सरकार चुनावी सरकार हो । चुनावका लागि प्रतिबद्ध भएर लागेको सरकारले सकेसम्म धेरैलाई चित्त बुझाएर अघि बढ्ने क्रममा वर्तमान सरकारको आकार तुलनात्मक रूपमा केही ठूलो बन्न पुगेको हो ।

सत्तागठबन्धनकै सहयात्री दल विपक्षीहरूसँग गठबन्धन गरेर निर्वाचन भाँड्ने खेलमा लागेका कारण प्रधानमन्त्रीले बाध्य भएर राप्रपालाई सरकारमा ल्याएका हुन् । राम्रो काम भएमा त्यसको जसचाहिँ लिने, तर कुनै काम बिग्रिएमा अर्कालाई दोष दिएर आफू पानीमाथिको ओभानो बन्ने वामप्रवृत्तिका विरुद्धमा देउवाले मन्त्रीमण्डल विस्तार गरेको बुझ्न सकिन्छ ।
एकातिर सत्ता पनि नछाड्ने र अर्काेतिर विपक्षी दलसँग लागेर उसकै इसारामा नाच्ने मन्त्रीहरूले सहयोग गर्लान् र निर्वाचन गराउन सकिएला भनेर जोसुकैले पनि विश्वास गर्न सक्दैन ।

संसारमा कहीँकतै नभएको जात्रा अहिले माओवादीले देखाइरहेको छ । संसारको इतिहासमा एउटै पार्टी सत्तापक्ष र प्रतिपक्ष दुवैतिर भएको कहीँकतै भेट्न सकिँदैन । माओवादीले यसअघि भन्ने गरेको सत्ताकब्जाको रणनीतिअनुसार प्रतिपक्षी एमालेसँग पार्टी एकता गर्ने र सरकार पनि नछाड्ने निर्लज्ज प्रवृत्ति देखाएपछि त्यसलाई पन्छाउने हेतुले नै सरकार विस्तार गरिएको बुझ्न सकिन्छ । संवैधानिक जटिलताका कारण माओवादीतर्फका मन्त्रीहरूलाई हटाउन नसकिएका कारण राप्रपालाई सरकारमा ल्याएर विभिन्न मन्त्रालय दिने र माओवादीतर्फका मन्त्रीहरूलाई ‘विनाविभागीय मन्त्री’ बनाउने गरी देउवाले सो कदम चालेको हुन सक्ने आँकलन गरिएको छ ।

मन्त्रीमण्डल विस्तार अवैधानिक भनेर विपक्षीहरूले जतिसुकै झ्याली पिटाए पनि त्यसले वैधानिकता पाइसकेको छ । स्थानीय तह निर्वाचनको पहिलो चरण सकिएलगत्तै दोस्रो चरणको लागि निर्वाचन आयोगले आचार संहिता लगाइसकेकै अवस्थामा देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । यसअघि चारपटकसम्म मन्त्रीमण्डल विस्तार हुँदा कुनै आवाज नउठाउने विपक्षीहरूले पछिल्लो विस्तारलाई अवैधानिक भन्नु हास्यास्पद छ ।

प्रतिपक्षी एमालेले चुनाव बिथोल्ने मनसायले राष्ट्रपतिलाई उचालेर सो कदम रोक्न खोजेको भए पनि राष्ट्रपतिले संवैधानिक राष्ट्रपतिको भूमिका निर्वाह गरेर चुनावी वातावरणलाई सहज बनाइदिएकी छिन् । स्वयं निर्वाचन आयोगले समेत मन्त्रीमण्डल विस्तारका कारण निर्वाचनलाई केही असर नपर्ने बताइसकेको अवस्थामा एमालेले रोइलो काढिरहनु आवश्यक देखिँदैन ।

वामगठबन्धनका कारण हौसिएको एमालेले यो कुरा पनि बुझ्न जरुरी छ कि प्रचण्ड सधैँ एमालेकै साथमा रहन्छन् भन्ने कुनै ग्यारेन्टी छैन । प्रचण्डले संसद्को अन्तिम बैठकलाई सम्बोधन गर्ने क्रममा पनि त्यसको संकेत गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाप्रति संकेत गर्दै उनले आफूहरूले चुनावका लागि मात्रै गठबन्धन गरेकाले नआत्तिन आग्रह गरे । वर्तमान वामगठबन्धन कुनै पनि वेला टुट्न सक्ने र पुनः कांग्रेससँगै मिल्न सक्ने उनको संकेत थियो । प्रचण्डको यसअघिका क्रियाकलाप देखेका र भोगेका जोकसैले पनि वर्तमान वामगठबन्धन दीर्घकालीन गठबन्धन नभएर सत्तास्वार्थलाई केन्द्रमा राखेर गरिएको ‘ठगबन्धन’का रूपमा व्याख्या गर्न थालेका छन् ।

एमाले–माओवादीका नेताहरूको स्वार्थ गठबन्धनलाई ती पार्टीका इमानदार कार्यकर्ताले सहजै स्वीकार गर्ने अवस्था पनि देखिँदैन । हिजोसम्म सबैभन्दा ठूला शत्रुका रूपमा एकअर्कालाई व्यावहार गर्दै आएका यी दुई दलबीच केन्द्रदेखि गाउँस्तरसम्म वैमनस्यता रहेका कारण नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई हराउन वामगठबन्धनलाई ‘फलामको चिउरा चपाउनु’बराबर हुने देखिन्छ । प्रधानमन्त्री देउवा लोकतान्त्रिक गठबन्धनलाई अझै मजबुत बनाउँने गरी अघि बढेका कारण आगामी निर्वाचनमा कांग्रेस नै पहिलो पार्टी बन्ने लक्षण देखिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000